एक आपसमा लडिरहेका देशबासीहरु र लडाइरहेकाहरु

न पुलिसलाई मधेशी जनतासँग कुनै रिसइवी  थियो/छ न त मधेशी जनतालाई पुलिस सँग केही रिसइवी थियो/ छ । तर पनि आज प्रहरी र मधेशी जनता एक अर्का सँग एसरी लडिरहेका छन् जस्तो वहाँहरुको सदियौ देखी को केही ठुलो झगडा नै थियो ।

मधेशी  जनताको रिस त अधिकार पाउँ  भनेर नेपालका एक दुइटा महान नेताहरुसँग पो थियो जस्ले काठमाडौं को सुरक्षा र आराममा चुनावमा आफ्नो  सिट सुरक्षित गर्नका लागि मात्र संबिधान ल्याउन खोज्दैछन  । एउटा पुलिस, एउटा मधेशी,  एउटा बालक, एक महिला - हाम्रा दाजु भाई छोरा दिदी । मरिरहेका छन् दिन दिनै । र यो देश निस्किनै नसक्ने खाल्डोमा जाकिदैछ । तेही पनि हाम्रा नेताहरु शायद आफु प्रधानमन्त्री रहिरहने वा भबिस्यमा बन्न सक्ने जोखना नै हेर्दैछन्  । कतिवोटा लाश गनी सकेपछी यि नयाँ राजाहरुलाई होश आउनेछ  ?

एक आपसमा केही झै झगडा नभएको जनतालाई भीडाएर आज एस्तो स्थिती अाइसक्यो कि घाइतेलाई ambulance बाट निकालेर मारिदैछ भने सडकमा खेलिरहेको बालकलाई ताकी ताकी गोली हानिदैछ । तै पनी यो स्थिती सबै रोक्न सक्ने मानिसहरु उखान टुक्का भनेर "आप झर्दै गर्छ" भन्न मै ब्यस्त छन् । पुलिस नभये आर्मी परिचालन भन्दै अगाडि देखिरहेको क्रुर सत्य पनि नदेखेको जस्तै गर्दैछन् ।

एउटा आर्मी पुलिस त आज मान्छे मारे पनि के नै हुन सक्छ र भोली ? बरु युद्द अपराध लगाइएर कुनै बेला पनि फालिन सक्छ ।  आफ्नो अधिकार को लागि आन्दोलन गर्ने जनता ले पुलिस र आर्मी मारेर के नै पो हात पार्छन् र ?  उल्टै आतंककारी विल्ला भिराइएर एउटा अभिशप्त जिवन निश्चित गर्छ । यि सबै जनता मारेर, जुत्ता को तलुवामा कुल्चिएर प्रहरी पनि कहाँँ पुग्ने हो र ? जागिरको लागि र "देश को सेवा" गर्नको लागि पुलिस भर्ती भएकाहरुले  रातारात आफ्नै दाजुभाइ दिदी बहिनी लाई आतंककारी देख्नदै क्रुर दमनमा उत्रिदा कसरी देशको शान्ती सुरक्षा हुन्छ ? मधेशी जनता ले सबै नै पुलिस कुटेर खेदे पनि र पुलिसले सबै मधेशी जनता गोलीले सखाप पारे पनि आखीर केही पाउछन्  र ?

तर आज यि दुइले एक अर्कालाई मारे भोली ढुक्कले प्रधानमन्त्री बन्ने सपना देख्दैछन् अझै पनि यो देशका मुर्ख स्वार्थी र पापीहरु । मधेशी जनताले खोजेको अधिकार त अर्कै बर्गले मुट्ठीमा बन्द गरिरहेको छ । जुन वर्ग न पुलिस मारिदा बिचलित भएको देखिन्छ न त जनता नै । 

२०६२/६२ अगाडि भ्रष्टाचार र नैतिक पतनले हारेर गलेर भासिइसकेको अहिलेका नेताहरुलाई फेरी मुख देखाउने र केही गरेर देखाउने जनताको अभुतपुर्व आन्दोलनले अवसर दिएको थियो । त्यही एक चोटि पाखा लागिसकेका र सबै गुमाइसकेका नेताहरु आज केवल आफ्नो शक्ति थुपार्न र बचाइराख्नको लागि यति धेरै जनता मर्दा पनि "पर्ख र हेर"को स्थितीमै छन् ।

माओवादी युद्दकालमा नै सेना परिचालन विफल भइ उल्टै हजारौको ज्यान गएको दुखित उदाहरण हुँदाहुँदै अहिले पनि बुच पचाएर यी थोत्रे नेताहरुले देशलाई फेरि पनि अर्को महासंकट तिर धकेल्दैछन् । जसले जे भने पनि यी दुइ-तिनवटाले अहिले चाहे तत्कालै यो हिंसाको वातावरण अन्य भइ वार्ता र समाधानतिर देश जान सक्छ । तर हैन यिनीहरु चाहन्छन् पेलेरै जाउँ । न एउटा नेपाल प्रहरीको न एउटा मधेसी आन्दोलनकारीको यिनीहरुलाई वास्ता छ । यी सब लाश त शायद सिर्फ उनीहरुको शक्ति बचाइराख्ने भर्‍याङ पो देखेका छन् कि ? हैन भने किन दिनरात ट्विटरमा झगडा गर्ने हामीहरु त मानवता हराएको दुखमा एक मुख भएर बोल्न सकेका छौं तर यो नेताहरुको मुखबाट एउटा सुस्केरा सम्म निस्किदैंन ।


एउटा समुन्नत भविष्य तिर देशलाई डोराएको भए अहिलेको कमजोर निर्धो मुलुकको लुब्ध शासक हैन कि एउटा समुन्नत आशलाग्दो देशको अगुवाई गरिरहेका हुन्थे । त्यति पनि किन सोच्न नसकेका ?  किन उनीहरुलाई आफ्नै देशवासीको रगत यति सस्तो लागेको ? किन एक आपसमा जुधिरहेका आफ्नै देशवासी देखेर पनि हाई काढ्दै र उखान टुक्का जोड्दै बसिरहन सकेको ? के साँच्चिकै उनीहरु मधेश नेपालबाट अलग नै होवोस् भन्ने चाहन्छन् ? वा देशवासीहरु अनन्त कालसम्म एक अर्कालाई काटमार गरिरहे उनीहरुको शासनलाई कसैले प्रश्न गर्ने छैनन् भन्ने रणनितीमा लागेका छन् ?

साँच्चै किन प्रश्न गर्दैनौं हामी तिनीहरुलाई ? किन तिनीहरुलाई जवाफ माग्नको साटो एक अर्कालाई लान्छना लगाउँदै उल्टै भिडिरहेका छौं एक अर्कासंग सडकमा, फेसबुकमा र ट्विटरमा ? कि हामीले आफु सुहाउँदो नेता पाइरहेको हो ?



Comments

Popular posts from this blog

Winter Sandakpur Trek: Getting to know the Snow White of Ilam

Kabaddi: a Movie Review

Vintage Effect in Movie Maker