पानी परेपछिको आकाश खुले झैं
“हैट, तपाइहरु त राई हुँदै होइन !” तेस्रो चोटि पनि तपाइहरु राई नै हो भन्ने उनको प्रश्नमा मैले “हो त” भन्ने उत्तर दिदाँ हामीसंग पागंबोचेदेखिसंगै यात्रा गर्दै गरेकी कुलुङ राई बहिनीले पत्याउदै नपत्याएर यसो भनेको थिइन् । बिहान करिब ८ वजे फेरिचेबाट बाटोभरि फुलेको सुन्दर फुल, हरियो घाँसे मैदान, निलो आकाश र खुलेको हिमाल हेर्दै नाम्चे हिंडेको हामीले उनलाई तल्लो पागंबोचेमा भेटाएका थियौ । फेरिचेकै एक होटलमा काम गर्ने उनी आफ्नो होटल साहुनीको खुम्जुङमा भएको घरबाट केही सामान लिनका लागि डोको बोकेर बाटो लागेकी रहेछिन् । हामी दुई बहिनी काठमाण्डौबाट घुम्न आएको त्यसकारण फोटो खिच्दै र बिसाउँदै अनि वहाँ भने डोको रित्तै किन लाने भनेर साहुनीले कामीकोमा तिखार्न पठाएको फलामे औजारहरुको गर्हुङो भारी टेकाउँदै लगभग उस्तै गतिमा हिंडिरहेको थियौं । बारम्बार विसाएर सुस्केरा हाल्ने ठाउँहरु एकै भएपछि मैले पनि एक बसाइमा सोधिहाले “बहिनीको घर कता ?” तल्लो सोलुखुम्बुमा कुलगं राईहरुसंगको करिब डेढ वर्षे उठबस र एक हप्ताको माथिल्लो सोलुखुम्बु (खुम्बु वा सगरमाधा आधार शिवि रक्षेत्र)को अव...