पानी परेपछिको आकाश खुले झैं
“हैट, तपाइहरु त राई हुँदै होइन !”
तेस्रो चोटि पनि तपाइहरु राई नै हो भन्ने उनको प्रश्नमा मैले “हो त” भन्ने उत्तर दिदाँ हामीसंग पागंबोचेदेखिसंगै यात्रा गर्दै गरेकी कुलुङ राई बहिनीले पत्याउदै नपत्याएर यसो भनेको थिइन् । बिहान करिब ८ वजे फेरिचेबाट बाटोभरि फुलेको सुन्दर फुल, हरियो घाँसे मैदान, निलो आकाश र खुलेको हिमाल हेर्दै नाम्चे हिंडेको हामीले उनलाई तल्लो पागंबोचेमा भेटाएका थियौ । फेरिचेकै एक होटलमा काम गर्ने उनी आफ्नो होटल साहुनीको खुम्जुङमा भएको घरबाट केही सामान लिनका लागि डोको बोकेर बाटो लागेकी रहेछिन् । हामी दुई बहिनी काठमाण्डौबाट घुम्न आएको त्यसकारण फोटो खिच्दै र बिसाउँदै अनि वहाँ भने डोको रित्तै किन लाने भनेर साहुनीले कामीकोमा तिखार्न पठाएको फलामे औजारहरुको गर्हुङो भारी टेकाउँदै लगभग उस्तै गतिमा हिंडिरहेको थियौं । बारम्बार विसाएर सुस्केरा हाल्ने ठाउँहरु एकै भएपछि मैले पनि एक बसाइमा सोधिहाले
“बहिनीको घर कता ?”
“बहिनीको घर कता ?”
तल्लो सोलुखुम्बुमा कुलगं राईहरुसंगको करिब डेढ वर्षे उठबस र एक हप्ताको माथिल्लो सोलुखुम्बु (खुम्बु वा सगरमाधा आधार शिवि रक्षेत्र)को अवलोकनबाट मलाई प्रष्ट भइसकेको थियो कि काँधमा ठुलो ठुलो भारी बोकेर हिंड्ने महिला वा पुरुष प्राय तल्लो क्षेत्र जस्तै वुंग, छेस्काम, गुदेल इत्यादिका कुलुङ राई हुन्छन् । हाम्रो सहयात्री बहिनी पनि त्यही कुनै क्षेत्रको होला भन्ने अनुमान गर्दै सोधेको नभन्दै बुगंको कुलुङ राई रहेछिन् । आमाबुवा दुवैको मृत्युपछि पढ्न पनि नसकेर अनि घरको आर्थिक स्थिती पनि दयनिय भएकोले अरु साथीहरुको लहलहैमा करिब ३ वर्ष अगाडि खुम्बु छिरेको कथा रहेछ उनको । ३ वर्षको आफ्नो खुम्बु बसाइमा उनले प्राय भेटेकोे राई चाहे सोलुखुम्बुको होस् वा छिमेकी जिल्ला खोटाङ, ओखलढुंगा आदिको- प्राय चाहि कि त भारी बोक्ने कि त होटलमा काम गर्ने भएकोले रहेछ हामी नितान्त घुम्ने मात्र उद्देश्यले सानो झोला अनि अलिक "शहरिया" लवाइ भएको दुइ केटीलाई राई नै हो भनेर पत्याउन उनलाई हम्मे हम्मे भयो ।
नेपाली जापानिज टुरिश्ट निर्मला |
“भुइचालोले त हाम्रो घर पनि भत्केको छ रे तर साहुनीको यहाँ थुप्रै कर्मीहरु लगाएको छ होटल बनाउन, अनि यसपालि घर नजाउ भन्नु भएकोले गइन” अफसिजनमा पनि किन घर नझरेको भन्ने प्रश्नमा सोझो हिसाबको उनको उत्तर आयो । उनको साहुनीको मात्रै हैन लगभग ११ दिनको खुम्बु यात्रामा हामीले प्राय जसो सबै घर र होटल नै भुँइचालोले नराम्रोसंग भत्किएको देख्यौं । हामीलाई आफनो घर चौरीखर्कको पुजामा निम्तो दिने सहकर्मी छोक्पा दिदीको ३ तले घर नै ढलेर आधी तले भएको थियो । हामीले वहाँको घरमा पाहुना लाग्दा आधा जस्तापाता र आधी पाल जोडेर बनाइएको अस्थायी टहरामा नै रात वितायौं । पालको बास, ढलेको घर, चर्केको चैत्य र गुम्बा अनि जताततै लडेको ढुंगाको थुप्रो – चौरीखर्क टेक्ने वित्तिकै यी दृश्य देख्दा मनमा कम्ती नरमाइलो लागेको थिएन तर मानिसहरुको आँखामा निराशा र दुख एउटै देखिएन । छोक्पा दिदी र हामीलाई देख्ने वित्तिकै वहाँको बहिनी लगायत छिमेकीहरु नजिकैको घाममा टल्किएको खुम्बिला हिमाल जत्रै हाँसो लिएर भेला हुनुभयो र भुँइचालोको बेला कसले के रमिता गर्यो सुनाउन थाल्नुभयो । शेर्पा समुदायले प्रत्येक साउनमा गोडमेलका बखत मारिने किराफट्याँग्राको ज्यान लिएकोमा क्षमा पुजा स्वरुप गुम्बा–गुम्बामा गर्ने न्युउने पुजाको लागि हामी चौरीखर्क पुगेको थियौं । चौरीखर्कमा यतिखेर सम्म पनि सबै जना अस्थायी टहरामा बसीरहेका छन् । त्यस्तै अस्तव्यस्त बसाइ भएपनि वहाँहरुको आफ्नो धर्म सस्कृतिप्रतिको सद्भाव र माया कति गहिरो भने सबभन्दा पहिले त्यहाँका गाउँबासी सबै मिलेर भत्केको गुम्बालाई मर्मत गरेका रहेछन् ।
निउने पूजा |
सरकारी राहत र पाल त देखिएन तर सगरमाथा पदयात्रा क्षेत्रमा भएकाले धेरै विदेशी संस्था र व्यक्तिले भने मनग्य सहयोग गरिरहेको भेटायौं । मानिसहरु पनि आफ्नै खर्च र बाहिरी सहायताको भरमा धमाधम घर र होटल मर्मत गरिरहेको भेटियो । करिब ४ दिन पुजामा रमाइसकेपछि पाँचौ दिन हामी नाम्चे बजार र सगरमाथा पदयात्राको अरु केही भाग घुम्नका लागि त्यसतर्फ लाग्यौं । असार साउनको मौसम भएकोले जताततै हरियाली थियो । बाटोभरि अनेकौं रंग र प्रकृतिका जंगली फुलहरु फुलेका थिए । त्यो अनुपम हरियाली, फुलहरुको मेला र घुम्ती नै पिच्छे पहरामा छङछङ बगिरहेको सुन्दर झरनाहरु ‘अफसिजन’मा आएकैले देख्न पाएका थियौं ।
बाटो रमाइलो गरी कटेपनि ठाउँठाउँमा घरहरु लडेकोे र चर्किएको देख्दा मनमा नमिठो पनि लागिरह्यो । विशेष टोकटोक भन्ने ठाउँमा भुकम्पले कमजोर पारेको भुबनोटमा हालसालै पहिरो गएर घरहरु पुरेको दृश्य डरलाग्दो थियो । माटोको ढिस्कोबाट ढोका, कुर्सी जस्ता अवशेष चिहाइरहेको भए पनि घरको गाह्रोसम्म देखिदैन थियो । त्यसकै करिब १ घण्टाको दुरीमा बेंकर भन्ने ठाउँमा हामीले खाजा खाएको घरभित्र नै बडेमानको ढुँगा पर्खाल छेडेर आइपुगेको रहेछ । आङ्ग नै सिरिगं हुने तर साहुनी भने निर्धक्क सुनाउँदै हुनुहुन्थ्यो कि त्यो ढुंगा आकाशबाट खसेर आइपुग्यो । त्यस होटलमा एक जना जर्मन नागरिक आएर बिजुली बत्तिको वाइरिगं मर्मत गरिदिदै थिए । त्यही घरको ज्वाँइको साथी रहेछन् । हामी चौरीखर्कबाट आएको थाहा पाएर उनले सोधे, “के त्यहाँ सबै चिज सामान्य छ ?”
यही ढुङ्गा को छेउ छाउ बसेर खाजा खाइयो । |
“भत्केको घर, पालमा बसिरहेको मान्छेहरु अनि प्रत्येक जसो रात मुसा र सर्पसंग पौठेजोरी खेल्दै सुत्नुपर्ने अवस्था सामान्य हो भने सामान्य नै छ” मैले अलिक हाँसो गर्दै भने । तव उनले भने अहँ त्यो सामान्य हैन अन्यन्त दुखदायी हो । र फेरी उनले आफ्नो घरपतिको प्रशंसा गर्दै कस्तो निडर मान्छे होला उनकै आँटले म पनि तेङ्बोचे गुम्बासम्म घुमेर आएँ निकै क्षति पुगेको रहेछ तर विहान हिमाल हेर्न निकै सुन्दर छ भनि आफ्नो कुरा राखिहाले । हुन त हामी खुम्जुङसम्म मात्र हिडेको थियौं । उनको कुराले अलिक परसम्म विनाश र प्राकृतिक दृश्य दुवै नियाल्ने लालसा जागेर आयो ।
‘सगरमाथाको प्रवेशद्धार’ नाम्चेबजार टेक्ने वित्तिकै त्यहाँको पुरानो विशाल स्तुपा भेटिने रहेछ । तर त्यो स्तुपा पनि भुइचालोले नराम्रो संग चर्केको देख्दा फोटो खिच्न मन भारी भइरहेको बेला केही पर एक हुल कर्मीहरु यसैको मर्मतको लागि ढुंगा कुट्दै गरेको देखेर भने मन फेरि फुरुगं भयो । स्तुपा मर्मत गर्ने जिम्मा छोक्पा दिदीको नाम्चेका साथी छिमी काल्देनले लिनु भएको रहेछ । वहाँ जस्तै धेरै खुम्बुवासी यसपाली अफसिजनमा पनि गाउँमै वसी पुनर्निर्माणमा तल्लिन भएर लागेको भेटियो ।
नाम्चेको स्तुपा |
पाङ्बोचेको स्तुपा |
खुम्जुङबाट साथी छोक्पा चौरीखर्क फर्किए पनि म र अर्को साथी निर्मला भने यात्रा लम्बाउँदै आधारशिविर नजिकैको गाउँहरु फेरिचे र दिगंबोचेसम्म घुम्न पुग्यौं । तेगंबोचे गुम्बा साँच्चै ति जर्मन साथीले भनेको जस्तो गरी नराम्ररी भत्किएको रहेछ र यहाँ पनि गुम्बा अनि वरपरका होटलहरु जोडतोडले मर्मत हुँदैरहेछ । रातभरि पानी परेर विहानीपख आकाश खुलेपछि सगरमाथा र आमादब्लम हिमाल टलक्क टल्किएको थियोे । यसैको काखमा सुतेको तेंगबोचे, भुँइफुलले ढकमक्क ढाकेको घाँसे मैदानमा चरिरहेका शान्त चौंरी र घोडाहरु अनि जति हेरे पनि नअघाइने निलो आकाश देखेपछि हामीलाई “उहिले गुरु रिम्पोचेले किन यो स्थान छान्नु भएको भन्दा यो चाँहि लुकेको स्वर्ग अथवा बेयुल हो अरे” भनि त्यही तेंगबोचेका एकजना लामा दाईले सुनाउनु भएको किवंदन्ती साँच्चीकै हो जस्तो लागिरह्यो । असार साउनलाई किन अफसिजन भनेको होला जवकि अहिले प्रकृति सबैभन्दा खुलेको छ भन्ने पनि लागिनै रह्यो । अर्को साथी निर्मला बेलाबेला केटाकेटी जत्तिकै फुर्केर भन्थिन्, “हामी जत्तिको भाग्यमानी त कोही पनि छैन होला । यति सस्तोमा बस्न खान पाउने फेरि यस्तो हरियाली, झरना, फुल अनि हिमाल सबै हेर्न पाउने त हामी मात्र होला !”
सार्है खुशी निर्मला चरा सँग उड्डै |
अफसिजन त्यसमाथि भत्किएको घर र होटल भएपनि हामीलाई बास र गाँसको कुनै समस्या परेन । बरु उल्टै नेपाली यसरी घुम्न आएको भन्दा धेरै सहयोग र छुटहरु पाइयो । सगरमाथा पदयात्रामा क्षति नभएको हैन भएको छ तर पर्यटक नै हाम्रो बाँच्ने आधार हो भनि जानेका खुम्बुवासीहरु दिनरात पुनर्निर्माण कार्यमा व्यस्त छन् । भुँइचालोले हल्लाएको खुम्बुमा सबैभन्दा चर्को आवाज कर्मीहरुको छिनो बजेको आउँछ । देशविदेशमा के सगरमाथा क्षेत्रमा अर्को मौसम टुरिष्टहरु आउलान् भनेर अनेक विश्लेषण भइरहेको बेला यहाँको निर्माण गतिविधी हेर्दा त्यो पिर कतै देखिदैन । वा बिषम परिस्थितीमा पनि सामान्य भएर जिउने कला यस हिमालि भेगका समुदायको जीवनपद्दती नै भएकोले हुन सक्छ बिपत्तीमा पनि लगन का साथ पुनर्निर्माणमा जुटेको । अन्य कुनै उपाय पनि त छैन । सरकारको राहत र सहयोग यहाँ पुग्नु धेरै अगावै नै मलाई यहाँ का समुदाय तङ्री सक्नेछन भन्ने लागेको छ । तल्लो सोलु बासीहरु हुन् या माथिलो खुम्बु बासी; भारी बोक्ने, हिमाल चढाउने या होटेल चलाऊने हुन् आखिर यही पर्यटकको भरले त त हो यहाँको ज्यादा जीवन धान्ने ।
फेरिचे । बाटो भरी नै निर्माण कार्य धमाधम थियो । |
खुन्दे - खुम्जुङ बाट आधी घण्टा को दुरी मा रहेको रमाइलो भ्यु पोइन्ट |
फोटो त खिच्नै पर्यो । |
हामी तीन बैनी |
फेरिचे र जङली फुल प्रिमुला । |
Comments
Post a Comment